विनाशकारी भूकम्प, सम्झनाका कुराहरु

-अर्जुन दाहाल, दोलखा ।
२०७२ साल सुरुदेखि नै व्यस्त दैनिकीमा थियो । महिनाको सुरुवातमै मातापिताको मुक्तिनाथ जाने ईच्छा पुरा गर्न म सँगै लागेको थिएँ २ गते । मुक्तिनाथबाट फर्कदा तन्नेरी चासोको बैठक थियो नगरकोटमा ८ गतेदेखि । तन्नेरी चासोको बैठकपछि लगत्तै धुलिखेलमा संघियताका बारे संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम (युएनडिपि)को छलफलका साथै नेपाल युवा संस्था सञ्जाल (आयोन)को बैठक थियो १३ गतेबाट ।

यि कामहरु भ्याउनका लागि मैले काठमाण्डौबाट दोलखा नआउने योजना गरिसकेको थिएँ । काठमाण्डौमा बसेको भए ८२ वर्षपछिको विनाशकारी भूकम्प त्यतै अनुभव गर्न पाईने रैछ । शंकरले फोन गरेर भन्यो, “दाई तपाँई जसरी पनि दोलखा आउनुपर्ने भयो । रेग्मी आएको थियो । उसँग भएका विभिन्न कुराहरु तपाँईलाई सुनाएर अब के गर्ने भन्ने योजना बनाउनु छ ।”

११ गते विहानको खाजा खाईवरी हामी नगरकोटबाट काठमाण्डौ झरेका थियौं । तन्नेरी चासोमा आवद्ध देशभरका ४० साथीहरु आगामी दिनमा सञ्जालले कसरी काम गर्ने भन्ने योजना बनाईसकेर छुट्टिएका थिए । नगरकोटमा हामी बसपार्क नै पुग्ने निधो भएको थियो । सिधै दोलखा फर्कने बसको टिकट लिन । दोलखाबाट गएका ५ जना साथीहरुमध्ये उमेश रोकाय अफिसको काम गर्नुछ भनेर काठमाण्डौ नै बस्ने भयो । हामी ४ जना साथीहरु १ बजेको बसमा टिकट काटेर दोलखा फर्कियौं ।

१२ गते विहान उठेर रेडियोतिर लागियो । स्टेशन रामचन्द्र गिरी रेडियोमा रहेछन । उनले मलाई रेडियोको तर्फबाट एउटा कार्यक्रममा सहभागि हुनका लागि आग्रह गरे । मैले ईन्कार पनि गर्न सकिन । जान मन पनि थिएन । उनले फेरी बल गरे ।

“रेडियोको तर्फबाट १ जना र १ जना रिपोर्टिङ्गका लागि भनेको छ । म जान भ्याईन । तिमी जाउ न ।”
मैले जान स्विकार गरें । रेडियोबाट प्रभु र म रिर्पोटिङ्गका लागि जाने निधो भयो । महिला तथा बालबालिका कार्यालय दोलखाले सञ्चालन गरेको कार्यक्रम अनुगमन गर्नका लागि दोलखाको दक्षिणी क्षेत्रमा पर्ने भीरकोट गाविस ।

रेडियो स्टेशनबाट सातदोबाटो आउँदा पत्रकार महासंघ दोलखाका अध्यक्ष उद्धव पोखरेल भेटिए । “तपाई महासंघको प्रतिनिधीत्व गरि महिला विकास कार्यालयको कार्यक्रम अनुगमनमा जानु पर्ने भयो ।” अध्यक्षको आग्रहमा मैले “हुन्छ” भनें । चोकमा चिया पिएर कोठामा पुगें । झोला लिएर चोक नै आएँ । गाडी विहानै जाने भन्ने बुझेको थिएँ । ९ः३० मा जाने भन्ने कुरा महिला विकास कार्यालयकी सुर्जा दाहालले जानकारी दिईन ।

अघिल्लो दिन बैशाख ११ गते । लोकतन्त्र दिवस । नागरिक दैनिकको वार्षिकोत्सब । पत्रिकाको समाचार बासी भए पनि त्यस दिन पत्रिकाले निकाल्ने विशेषाँक संग्रह गर्नुपर्छ भन्ने लागेर पत्रिका लिन गएँ कार्की बुक्समा । पसलका साहु प्रकाश कार्कीसँग पत्रिका किन्दा पत्रिका ठूलै थियो । ४८ पृष्ठको विशेषाँकसहित ।

म विशेषाँकको पाना पल्टाउँदै थिएँ । पत्रकार शेरबहादुर भूजेलले पत्रिका मागे । उनले र मैले पत्रिका बाँडेर पढ्न लागेका थियौँ । सानो बसमा जाने होला भन्ने ठानेको थियो । ठूलै बसको व्यवस्था गरेको रहेछ आयोजकले ।

बस चढ्ने बेलामा सहायक प्रमूख जिल्ला अधिकारी औलख बहादुर आले देखा परे । “यता हुनुहुन्थेन त कहिले आउनुभयो”, उनले सोधे । सायद अघिल्ला दिनमा मेरो सन्दर्भमा कुरा भएको हुनुपर्छ । “हिजै मात्र आएको”, मैले जवाफ फर्काएँ ।

गाडीमा सिटमा बस्ने बारे राम्रै बहस भयो । महिला, अपाङ्ग, जेष्ठ नागरिकका लागि आरक्षित गरिएका सिटमा को बस्ने भन्नेमा हाँसीमजाक चल्यो । यादै नगरी बसेकाहरु सिट छोडेर पछिल्ला सिटमा गएर बस्न लागे । डिभिजन सहकारी कार्यालयका प्रमूख भरत प्रसाद ढकाल जेष्ठ नागरिक सिटमा बसे । “म भन्दा जेठो त कोही छैन होला है !”, भन्दै ।

म विशेषँकमा रहेको मोहन मैनालीको लेख हेर्दै थिएँ । मलाई लेखले नराम्रोसँग झस्काईदिएको थियो । लेखमा युग पाठकको लेखको चर्चा गरिएको थियो । जुन मैले पनि केही समय अगाडी पढेको थियो । त्यो लेख पढ्दा मैले खोट भेटेकै थिएन भने पनि हुन्छ । मोहन मैनालीले लेखकै सामाग्रीलाई आधार बनाएर ठूलै भ्वाङ परेको देखाएका थिए ।

तामाकोशी तरेपछि साल फूलेको प्रसङ्ग सुरु गरे सहायक प्रमूख जिल्ला अधिकारीले । “साल फूलेपछि साल फेरीने त हो नी !” मेरो जवाफमा उनले भने, “कुरा त राम्रै हो ।”

कालिदह नपुग्दै हामी मोडियौं भीरकोट गाविसको भवनतिर । कालोपत्रे सडक सकिएर गाडी धुले सडकतिर लाग्यो । जहाँ कार्यक्रमका लागि सहभागिहरु आमन्त्रण गरिएको थियो । मोडमै एकजना सहभागि पनि साथैमा लिएर ।

घुम्ती नै घुम्ती भएको ग्रामिण सडक । पहिलो बस्ति देखिँएको मात्रै थियो । एउटा घरबाट धुलाको मुस्लो उड्यो । मनमा विचार आयो ‘आगो लागेछ । आगलागीलाई नियन्त्रण गर्न प्रयास भैरहेको होला ।’ गाँउमा आगो लाग्दा माटो पनि प्रयोग हुन्छ ।

मानिसहरु सडकमा देखिए । हामीले गाडी रोक्यौं र ओर्लियौं । मूख्य धक्का सकिईसकेको थियो । अन्य धक्काहरु जारी थिए । स्थानीयले भने “भूकम्प आयो !” मानिसहरु गाईवस्तु फुकाउन खोजिरहेका थिए । घर भत्कन्छ भनेर नजिक जाने आँट निकाल्न सकेका थिएनन् । तत्कालै हामीले भत्किएका घरका केही तस्विर लियौं । रेडियो अन गरे । सबै रेडियोहरु बन्द थिए कालिञ्चोक एफएमबाहेक । गीत बज्दा बज्दै एकैछिनमा त्यो पनि बन्द भयो । हामी अलि वर आयौं गाडी लिएर । गाडीमा मेरो मोबाईल बज्यो । बुबाले गर्नुभएको रैछ । कलब्याक गरें । बुबा मैनापोखरी जान लाग्नुभएको रहेछ । दाँतको उपचार गर्नका लागि ।

मैले सिङ्गटीमा सम्पर्क गर्न खोजें । लाईनको नम्बरमा सम्पर्क गरें । सम्पर्क भयो । घरमा वहिनीलाई फोन गरें । सबै घर भत्किएको जानकारी पाईयो । नेपाल टेलिकमको जिएसएम फोन लागिरहेको थिएन । स्काई फोनको नम्बर भएका सिन्धुपाल्चोक मांखाका सीता दिदी र रामेछापका भीनाजुलाई पनि सम्पर्क भयो । सबैतिर घरहरु भत्किएका खबर आयो । सिन्धुपाल्चोकमा घरमा मानिस परेर निकाल्न लागिएको भनेर सीता दिदीले जानकारी दिईन ।

हामी गाविस भवनको अल्ली वरै थियौं । त्यहाँ जान हामी गाडीमा चढ्यौ । कोही हिँडेर आउने भनेर चढेनन् । गाडीबाट भत्किएका अरु घर पनि देखिए । गाविस भवनको वर गाडी रोक्दा भूकम्पको अर्को पराकम्पन गईरहेको थियो । चालक हामीसँगै ओर्लिए । “ठूलो रुखमूनी गाडी नराख्नुस । अरुतीर सुरक्षित स्थान होला”, मैले भनें । “यो रुख नै ढलेर गाडी किचेछ भने किचोस”, उनले भने । हामी हल्लाउँदा हल्लाउँदै गाविस भवनमा पुग्यौं । डरैडरमा अलीअली गाँउका महिलाहरु जम्मा भईसकेका थिए ।

गाविस भवनको प्राङ्गणमा पुगेपछि मेरो फोन लगेर शेरबहादुरले काठमाण्डौमा जीवन लामालाई फोन लगाए । उनले धरहरा ढलेको खबर सुनाए । “धरहरै ढल्यो रे !” हामी सबैले अचम्म मान्यौ । कुनै अर्को एक जनाले चरिकोटमा रहेको प्रतिक्षालय ढलेको खबर सुनाए । अर्को एकजनाले भने जापानमा पनि भुँईचालो गयो रे । त्यत्तिकैमा शहरेबाट प्रदिप सुवेदीले एक जना दलितको मृत्यु भएको खबर पठाए । उनीसँग पछि फोन गरेर बुझ्न फोनमा ब्याट्री सकिईसकेको थियो ।

गाविस भवनको प्राङ्गणमा केहि महिलाहरु जम्मा भईसकेका थिए । हामीले थोरै मात्र कुरा गरेर सामुहिक फोटो खिच्यौं । चरिकोटबाट आएका सहभागिहरु चरिकोट पुग्न हतारोमा थिए । भुँईचालोका पराकम्पनहरु निरन्तर गईरहेका थिए । भीरकोटको धरातल कमजोर भएको भन्दै सहायक प्रजिअ औलख बहादुर आले चरिकोट फर्कन हतारो लगाईरहेका थिए । हामी बसमा चढ्न आँउदा भूकम्पका कारण जमिन भासिएको भन्ने हल्ला सुनियो । हामी भासिएको जमिन हेर्न त्यतैतिर लाग्यौं । सडकको वारपारै जमिन फाटेको रहेछ । त्यसपछि हामी गाडी चढेर चरिकोट फर्कन लाग्यौं ।

ढोलीखोला नजिकै हामीले एउटा डोजर मन्थलीतर्फ जाँदै गरेको भेट्यौं । उसलाई छोडेर अलिक वर आँउदा सुख्खा पहिरो खसेर बाटो अवरुद्ध भएको रहेछ । गाडीका सबैजना ओर्लिएर पहिरो पन्छाउन लाग्यौं । पहिरो पन्छाएपछि हामी तामाकोसी आयौं । तामाकोसीमा नेकपा एमालेका जिल्ल नेताहरु देखिए । उनिहरु पनि गाडीमा चढे । ईश्वरचन्द्र पोखरेल, भरत दुलाल लगायतका नेताहरु पवटीमा पार्टीको कार्यक्रमका लागि गएका रहेछन् । उनिहरुले पवटीमा सबै घरहरु भत्किएको र नयाँपुलमा ३ जनाको मृत्यु भएको सुनाए । यसपछि हामी चरिकोट लाग्यौं । चरिकोटमा आँउदा चरिकोट नजिक बाटो भासिएको थियो । हामी गाडीबाट ओर्लिएर हिँड्यौं ।

प्रभू जिरेलसँग हामी प्राथमिक स्वास्थ्य केन्द्र गयौं । जिल्लाका विभिन्न स्थानबाट घाईते तथा विरामीहरु ल्याइएको रहेछ । म र प्रभु कालिञ्चोक उमावितिर लाग्यौं । त्यहाँ उसका दिदीहरु बसेका थिए । उमाविमा धेरैजना जम्मा भएर पाल टाग्ने काम गरिरहेका थिए । प्रभूका दिदीहरुले पुरी ल्याएका रहेछन । मलाई पनि दिए ।

कालिञ्चोक उमाविमा नै मैले रेडियो शैलुङ्गका तारा महत र पुष्करलाई भेटें । उनिहरु गाँउका केही मानिससहित कालिञ्चोक मन्दिर गएर फर्केका रहेछन् । यतिञ्जेलसम्म रात पर्न लागिसकेको थियो । कहाँ बस्ने निधो थिएन । उनिहरुले सँगै बसौँ भने । मैले पनि सँगै बस्न हुन्छ भनें । हामी सँगै बस्न लाग्यौं विद्यालय भीत्र । कक्षाकोठाभर मानिसहरु थिए । टुक्रुक्क बस्नमात्रै पुग्ने ठाँउ थियो । राती भुँईचालो आउँदा छानाका जस्ता बज्ने गर्दथे । एकछिनपछि ठूलो भुकम्प आयो । कोहि पनि भित्र नबस्ने भए । म चाँही भीत्रै बस्ने निधोमा पुगें । विद्यालयको एउटा बेञ्चमा बसिरहेँ ।

बाहिर पानी पर्न लागेको कारण फेरी मानिसहरु कोठामा नै पसे । अँध्यारो निष्पट्ट थियो । “आज कालिञ्चोक पुगेर एउटी आईमाईले भाले भोग दिई रे ! त्यहि भएर भुँईचालो आएको रे !” एक किशोरी आवाज सुनियो । “त्यल्लाई मर्नलाई कस्तो दूख पाईयो !” अँध्यारोमा अर्को आवाज सुनियो ।
“तपाँईले त ग्यास पनि लिएर आउन भ्याउनुभएछ ।”
“बल्ल बल्ल झिकेर यतै खाना बनाएर खुवाँए ।’
केही केही फोनमा जानकारी आदानप्रदान गरिरहेका थिए ।

“यता सिरानतिर खुट्टा राख्ने हो ?” मेरो अनुहारमा टर्च देखाँउदै एक महिला कराईन ।
“मलाई पनि थाहा छ मेरो खुट्टा कहाँ छ भन्ने”, मैले अलिक चर्कै भएर जवाफ फर्काएँ ।
“अचेलका मान्छेसँग कुरा गर्न सकिँदैन । निहुँ खोज्ने कुरा गर्छन”, महिलाको आवाज क्रमश मसिनो भयो ।

उज्यालो भुँईमा खस्नै लागिसकेको थियो ।

Leave a reply