विमला बुढाथोकी !
दोलखा को निर्वाचन इतिहासमा बारम्बार दोहोरिँदै आएको एउटा नकारात्मक छाया थियो—बुथ क्याप्चर, झडप र गोली चल्ने घटना। गणतन्त्रपछिको पहिलो निर्वाचनदेखि लिएर २०७९ सालसम्मका चुनावमा पनि दोलखामा यस्ता घटना सामान्यजस्तै बन्न पुगेका थिए। चुनावको बेला झडप हुनु, दलहरूले एक–अर्कामाथि बुथ कब्जाको आरोप लगाउनु, मतगणना ढिलाइ हुनु—यी सबै कुरा दोलखाली मतदाताका लागि लगभग परिचित दृश्य बनिसकेका थिए।

कतिपय अवस्थामा बुथ कब्जा भएको आरोप केवल दलहरूले मात्र लगाएका होइनन्, निर्वाचन आयोगले नै छानबिन गरेर पुनः मतदान गराएको उदाहरण पनि छ। २०७९ सालको स्थानीय तह निर्वाचनमा बैतेश्वर र तामाकोशी गाउँपालिका तनावग्रस्त बनेका थिए। बैतेश्वरका चार वडामा बुथ कब्जा भएको आरोपसहित ९८ प्रतिशतसम्म मत खसेको तथ्य सार्वजनिक भएको थियो।
यो क्रम २०७९ सालकै प्रतिनिधिसभा निर्वाचनमा पनि रोकिएन। त्यसबेला कांग्रेस–माओवादी गठबन्धनले ११ वटा बुथ कब्जा गरेको आरोप एमालेले लगाएको थियो। बैतेश्वर–६ मा एक वृद्ध मतदाताले मतदान गर्न नपाएपछि आक्रोशमा मतपेटिका फुटाइदिएको घटना पनि चर्चामा आएको थियो। पछि निर्वाचन आयोगको छानबिनले चार मतदानस्थलमा बुथ कब्जा भएको प्रमाण फेला पारेपछि ती स्थानमा पुनः निर्वाचन गराइएको थियो।
तर यो पटकको निर्वाचन दोलखाका लागि फरक रह्यो। कुन दल वा उम्मेदवार विजयी हुन्छन् भन्ने कुरा आफ्नो ठाउँमा छ, तर यसपटक दोलखाले नै जितेको अनुभूति धेरैले गरेका छन्।
बधाई छ दोलखाका मतदाता, राजनीतिक दल, उम्मेदवार, मतदानमा खटिएका कर्मचारी तथा सुरक्षा निकायलाई। यसपटक दोलखामा लोकतान्त्रिक अभ्यासलाई सम्मान गरिएको छ। विगतमा मतदान सुरु भएपछि “बुथ कब्जा भयो, गोली चल्यो, मान्छे घाइते भए” भन्ने समाचारहरू आउने गर्थे। तर यसपटक समग्रमा चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भयो।

कतिपय स्थानमा सामान्य अवरोध भने देखिए। तामाकोशी गाउँपालिका–मालु मतदान केन्द्रमा कांग्रेस र नेकपा मिलेर बुथ क्याप्चर गर्ने प्रयास गरेको आरोप एमाले र रास्वपाले लगायका थिए । बुथ कब्जा प्रयासको विवाद भएपछि केही घण्टा मतदान रोकियो, तर पछि सहमतिमा पुनः सुरु भयो। बेदिङमा नागरिकले मतदान बहिष्कार गर्दै विरोध जनाए। कालिन्चोक गाउँपालिका–कालिनाग मावि, सुनखानीमा पनि केही समय मतदान अवरुद्ध भए पनि चाँडै पुनः सञ्चालन भयो। तर यी घटनाहरू विगतका जस्ता व्यापक हिंसात्मक रूप लिन सकेनन्।
यसपटकको चुनावले विगतमा दोलखालाई लागेको नकारात्मक दाग मेटाउने दिशामा ठूलो सन्देश दिएको छ। मतदाताले आफ्नो मताधिकार स्वतन्त्र रूपमा प्रयोग गर्न पाउनु नै लोकतन्त्रको सार हो भन्ने अनुभूति यसपटक धेरैले गरेका छन्।
निर्वाचन प्रचारका क्रममा बैतेश्वर गाउँपालिकामा रास्वपाका कार्यकर्तालाई लखेटिएको भिडियो सार्वजनिक भएपछि “विगतमा जस्तै बुथ कब्जा फेरि हुन्छ कि?” भन्ने आशंका देखिएको थियो। यही कारणले नेपाल सरकारका गृहमन्त्री, कार्यवाहक निर्वाचन आयुक्त र सुरक्षा निकायका प्रमुखहरूले बैतेश्वर गाउँपालिकाको विशेष भ्रमण पनि गरेका थिए।
सरकारको सक्रियता, सुरक्षा व्यवस्थाको कडाइ, स्थानीय प्रशासनको समन्वय र राजनीतिक दलका नेता–कार्यकर्ताको संयमताका कारण यसपटक दोलखा आफ्नो पुरानो छवि बदल्न सफल भएको देखिन्छ।
२०४८ सालदेखि लगभग हरेक निर्वाचनमा हिंसात्मक घटनाले चिनिएको दोलखामा यसपटक मतदान नजिकिँदा पनि मतदाताले “शान्तिपूर्ण रूपमा मतदान गर्न पाइएला कि?” भन्ने प्रश्न गरेका थिए। दलहरूले बुथ कब्जा हुने कुरा स्वीकारे पनि जिम्मेवारी भने कसैले लिने गरेका थिएनन्।
तर यसपटकको निर्वाचनले एउटा महत्वपूर्ण सन्देश दिएको छ , लोकतन्त्रमा जनताको मतभन्दा ठूलो शक्ति अरू केही हुँदैन। ढिलो–चाँडो सबैले जनताको मतमा विश्वास गर्नैपर्छ। यसैले, बधाई दोलखा! बधाई दोलखाली मतदाता! यसपटक दोलखामा चुनाव मात्र सम्पन्न भएको छैन । लोकतान्त्रिक संस्कारको नयाँ उदाहरण पनि स्थापित गरेको छ।