यो एक हप्ता हरेक दिन, हरेक पल, हरेक घडी कसरी बित्यो, अहँ कत्ती पनि मेसो पाइरहेकै छैन।
भदौ १० गते बिहान एउटा खबर आयो—बाढीले बेत्रावती, भैंसे, आँगिटार, तुप्चे, सोलेलगायत जीवनका कुनै न कुनै स्मृतिहरू जोडिएका धेरै ठाउँहरू बगायो रे—भनेर सुनेदेखि सुरु भएको त्यो कहालीलाग्दो दिन। त्यसपछि आफ्नाहरू सम्पर्कमा छन् कि छैनन् भनेर रन्थनिएको मन।
दिनहरू बित्दै जाँदा हराइरहेका मान्छेहरूको संख्या बढ्दै गयो। चिनेजानेका अनुहारहरू थपिँदै गए। मन झन् आत्तिँदै गयो। कसैको घरका यति जना, कसैका उति जना… कसैको श्रीमती, कसैको बुबा, कसैको आमा, कसैको बच्चा, कसैको सबै परिवार, आफ्नै साथी, आफ्नै साथिका परिवार, आफ्नै छिमेकी, आफन्त, फलानो गाउँको यति, फलानोको उति …।
हरेक नयाँ खबरसँग मन झन् भारी हुँदै गयो। कतिपटक अनायासै आँखा रसाए। कतिपटक केही गर्न नसकेको जस्तो लाग्यो। अनि कतिपटक एउटै कुरा मनमा आयो—कुनै न कुनै ठाउँमा, कुनै न कुनै ओडारमा, कतै सुरक्षित भएर उहाँहरू पर्खिरहनुभएको भए… र भेटिनुभएको भए…
साँच्चै यो एक हप्ता घडी हेरेर बितेन, खबरहरू हेरेर, फोन गरेर, फोनको प्रतीक्षा गरेर, सम्पर्कविहीन भएका परिचित अनुहारहरूका तस्वीरहरू फेसबुकमा खोजेर, अस्पतालमा खोजेर बित्यो।
यो एक हप्ता मनले समय अडियोस्, शोक महसुस गर्न देओस् भने पनि दैनिकी त त्यसरी कहाँ रोकिन्छ र! हिँडिरहेकै छु, नित्य कामहरू पनि भइरहेकै छन्, बाहिरबाट हेर्दा सबै सामान्यजस्तै चलिरहेकै छ। तर मन अशान्त छ। मस्तिष्कले के गर्ने, कहाँ जाने, के सोच्ने—भेउ पाउन सकेको छैन। कता के भइरहेको छ, ठम्याउन सकेको छैन। तर मनले एउटै आशा गरिरह्यो—यो एक हप्ताको प्रत्येक पल, प्रत्येक घडी, प्रत्येक दिन… सबैका आफ्नाहरू भेटिऊन्।
यदि चमत्कार भन्ने केही हुन्छ भने, यही बेला होस् जस्तो लागिरह्यो। सबै सम्पर्कविहीनहरू फर्केर आऊन्। कसैलाई पनि आफ्ना मान्छेको मृत्यु स्वीकार गरेर बस्न नपरोस्। अरू केही चाहिँदैन जस्तो लागिरह्यो।
धेरै वियोगहरू भोगेकोले होला, कसैले पनि कहिल्यै अनायासै आफ्ना कोही गुमाउनु नपरोस् जस्तो सधैं लागिरहन्छ।
यो एक हप्ता स्मृतिमा धेरै कुराहरू घुमिरहे—ती सम्पर्कविहीन सयौँभन्दा बढी परिचित अनुहारहरू, उनीहरूका परिवारका रोदनहरू, आफू जन्मिएको घर, आफू हुर्किएको गाउँ, आफू पढेको स्कुल, साथीहरूसँग डुलेका बाटाहरू, वर्षौँदेखि देख्दै आएको बेत्रावती, भैंसे, उत्तरगयाको त्यो परिवेश—सबै सम्झनामा एकैपटक आइह्यो।
घरीघरी लाग्यो—अलिकति छिटो उद्धार गरिदिएको भए कोही-कोही त जोगाउन सकिन्थ्यो कि? सरकारलाई पनि गाली गर्न मन लाग्यो। समयमै सूचना दिएको भए, सबै मान्छेहरूलाई त बचाउन सकिन्थ्यो कि जस्तो लाग्यो। सबै संयन्त्रहरूलाई गाली गर्न मन लाग्यो। यस्तो दिन देखाउने भगवानलाई, प्रकृतिलाई—सबैलाई गाली गर्न मन लाग्यो।
मन अझै शान्त छैन।
सायद शोक यस्तै हुँदो हो—दुःख, आँसु, डर, रिस, अत्यास, आशा… सबै एकैपटक आउने।
आज एक हप्ता भयो।
तर यो पीडा अझै त्यहीँ छ।
ओहो!
यस्तो दिन अब फेरि कसैले कहिल्यै देख्न नपरोस्।
कसैले आफ्ना मान्छे खोज्दै दिन र रात कहिल्यै काट्न नपरोस्।
कसैले अनायासै आफ्ना प्रियजन कहिल्यै यसरी गुमाउनु नपरोस्।
र यस्तो वियोग कसैको भागमा कहिल्यै नपरोस्।

