सामाजिक सञ्जालका भित्ताहरू मात्र होइन, अहिले काठमाडौंका विभिन्न अस्पतालका भित्ताहरू पनि एउटै आशाले भरिएका छन्—
१० गतेको रसुवाको भिषण बाढीपछि सम्पर्कमा नआएका आफ्ना आफन्त, साथीभाइ, छरछिमेक र प्रियजनहरू सकेसम्म सासै भेटियोस्, नभए लास भए पनि भेटियोस्।
बाढी गएको आज कैयौँ दिन भइसक्यो। तर कतिपय परिवारका लागि समय रोकिएको छ। फोन आउला कि, कतै भेटिएलान् कि, अस्पतालको कुनै कुनामा होलान् कि भन्ने आशामा परिवार/आफन्तहरू अस्पतालदेखि प्रहरी कार्यालय र अन्य सम्बन्धित ठाँउहरुसम्म धाइरहेका छन्।
यो पीडा कस्तो हुन्छ, हामी कल्पना पनि गर्न सक्दिनौ र कतिपय हाम्रै साथी, आफन्त र चिनेजानेका मानिसहरू अहिले यही पीडाबाट गुज्रिरहेका छन्।
पछिल्ला तीन दिनमा हामी काठमाडौंका केही अस्पताल पुग्यौँ। घाइते तथा प्रभावितहरू र हराइरहेका आफ्ना मान्छेको खोजीमा रहेका आफन्तहरूसँग कुरा गर्यौँ। केही कुरा नजिकबाट देख्यौँ, केही कुरा सुन्यौँ।
अहिले हामीसँग सबै समस्याको समाधान छैन। के गर्न सकिन्छ भन्नेमा हामी आफैं पनि अलमलमा छौँ। तर देखिएका केही कुरामा ध्यान जाओस् भन्ने आशा भने छ।
-प्रक्रियाहरू सकेसम्म सहज बनाइयोस्।
मान्छेहरू आत्तिएका छन्, विचलित छन्। शव बुझ्ने, हराइरहेका व्यक्तिको विवरण टिपाउने वा आवश्यक जानकारी दिने प्रक्रियामा सकेसम्म कम झन्झट होस्। विवरण आवश्यक होला, प्रक्रिया आवश्यक होला—तर त्यही प्रक्रिया पूरा गराउँदा पीडामा रहेका मानिसलाई थप मानसिक तनाव नहोस्। सम्बन्धित ठाउँमा खटिने व्यक्तिहरूको व्यवहार सकेसम्म नम्र र मानवीय होस्।
– पहिचान भएका शव बुझ्ने प्रक्रिया पनि सहज बनाइयोस्।
पहिचान भइसकेका शवसमेत आफन्तले बुझ्न कठिन भइरहेको भन्ने खबर/अनुभवहरू सुनिरहेका छौँ। यसका प्रक्रियाहरू के हुन्, कहाँ के गर्नुपर्छ भन्ने कुरा स्पष्ट र सहज रूपमा जानकारी गराइयोस्।
-जानकारी सबैको पहुँचमा पुगोस्।
शव वा हराइरहेका व्यक्तिबारे जानकारी लिन धेरै परिवार अस्पताल पुगिरहेका छन्। कतिपय ठाउँमा प्रहरीले अनलाइनबाट पनि विवरण हेर्न सकिने जानकारी दिइरहेको छ। तर धेरैलाई त्यो कहाँ र कसरी हेर्ने भन्ने नै थाहा छैन।
त्यसैले सम्बन्धित निकायहरूले उपलब्ध गराएका आधिकारिक सूचना, नामावली, सम्पर्क नम्बर र अनलाइन माध्यमहरू व्यवस्थित रूपमा सार्वजनिक र व्यापक रूपमा साझा गरिदिनुहोस्। यसले प्रभावित क्षेत्रबाट काठमाडौं वा अन्य ठाउँमा आउन नसकेका परिवार, विदेशमा रहेका आफन्त तथा टाढा रहेका मानिसहरूलाई पनि केही सहज हुन सक्छ।
– सम्भव भए, हराइरहेका व्यक्तिको विवरण टिपाउने प्रक्रिया अनलाइनबाट पनि सहज बनाइयोस्।
अहिले मानिसहरू आफैं अस्पताल वा सम्बन्धित कार्यालय पुगेर नाम टिपाउनुपर्ने अवस्था देखिन्छ। यस्तो सुविधा सम्भव छ भने त्यसबारे स्पष्ट जानकारी दिइयोस्; सम्भव छैन भने पनि कम्तीमा प्रभावित परिवारलाई कहाँ, कसरी र कसले विवरण टिपिदिन्छ भन्ने स्पष्ट होस्।
र, हामीले देखेका/सुनेका यस्ता अरू धेरै कुरा छन्।
आँखाले देख्दा मन आत्तिन्छ।
“यसरी भइदिए हुन्थ्यो नि…” भन्ने लाग्छ।
पीडामा रहेका मानिसहरूलाई कम्तीमा अहिलेको यो समय अलिकति भए पनि सहज भइदिए हुन्थ्यो भन्ने लाग्छ।
हामीलाई थाहा छ—हरेक प्रक्रियाका आफ्नै कानुनी र प्रशासनिक पक्ष हुन्छन्। सबै कुरा हामीले बुझेका पनि छैनौँ।
तर हाम्रो आशा यत्ति हो—
विपद्पछि बनाइने हरेक प्रक्रिया पीडित मानिसका लागि थप पीडाको कारण होइन, सकेसम्म सहजताको माध्यम बनोस्।
अहिले हामीसँग गर्न सकिने सबैभन्दा ठूलो काम सायद यही पनि हो—
एकअर्कालाई सूचना दिने, खोजीमा सहयोग गर्ने, सही जानकारी फैलाउने र आशाको हात अघि बढाउने।
रसुवा बाढीबाट प्रभावित सबैप्रति हाम्रो गहिरो संवेदना। हराइरहनुभएका सबै सकुशल भेटिनुहोस् भन्ने आशा।
घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना।


